मधेस प्रदेश बाहेक अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाकाे संभावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बादल तथा बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।

महाशाखाले साेमबार दिउँसाे देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने, तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ।

त्यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरू,  सुदुरपश्चिम प्रदेशको तराई लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका  तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ । 

महाशाखाका अनुसार साेमबार राती देशको हिमाली भू-भागमा साधारणतया बादल,  पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहने छ ।

महाशाखाले  सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको  हिमाली भूभागका एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाएकाे छ । 

Facebook Comments