संघीय संसदमा आगामी आ.व. २०८३/०८४ बजेट प्रस्तुत हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आ.व. २०८३/०८४ का लागि अनुमानित आय- व्यय विवरण अर्थात वार्षिक बजेट प्रस्तुत गर्दै हुनुहुनछ ।

रास्वपा नेतृत्वकाे शक्तिशाली सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेकाे हाे । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वकाे सरकारकाे याे पहिलाे बजेट हाे ।

बजेट निर्माणमा रास्वपाले निर्वाचनमा समयमा तय गरेकाे वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको छ ।

नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान अनुसार प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट प्रस्तुत गरिंदैछ ।

यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो ।

चालू आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको थियो, जसलाई गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारले मध्यावधि समीक्षामार्फत बजेटको आकार रु १६ खर्ब ८८ अर्ब बराबर बनाएकाे थियाे ।

Facebook Comments