इन्धन मूल्य मुल्य समायाेजन नगर्दा नेपाल आयल निगम झण्डै १८ अर्व बढीकाे घाटा वेहाेर्दै
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । पेट्राेल, डिजल, मट्टीतेल र एलपी ग्याँसकाे मुल्य भने निगमले यथावत राखेकाे छ ।
जसका कारण गएकाे १५ दिनमा ५ अर्व घाटा बेहाेरेकाे निगमले अव १५ दिनकाे अवधिमा १३ अर्व २१ कराेड घाटा बेहाेर्नुपर्ने भएकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भन्दै निगमले आन्तरिक र बाह्य दुवैतर्फको हवाई इन्धनको मूल्य ह्वात्तै बढाएको हो ।
बढाएको हवाई इन्धनको मूल्य आज बुधबारदेखि लागू भएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य लिटरमै १२४ रूपैयाँले बढेको छ । यसअघि प्रतिलिटर १२७ रूपैयाँ रहेको आन्तरिक हवाई इन्धनको मूल्य अब एकैपटक २५१ रूपैयाँ पुगेको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर ८१९ अमेरिकी डलरले वृद्धि गरी १७८५ डलर पुर्याइएको छ । यसअघि यो ९६६ डलर थियो । पोखरा र भैरहवाको हकमा भने ‘ब्रेक इभन प्वाइन्ट’ (नाफा घाटा नहुने बिन्दु) मा रहेर क्रमशः १७३२ र १७१६ डलर कायम गरिएको निगमले जनाएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेकाले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट अप्रिल १ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१.६० रूपैयाँ, डिजेलमा ९४.९३ रूपैयाँ, हवाई इन्धनमा १२३.८ रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १९०.३६ रूपैयाँले वृद्धि भएर आएको छ । तर निगमले भने हवाई इन्धन बाहेक मुल्य समायाेजन गरेकाे छैन ।
इन्धनकाे उपयाेगमा मितव्ययिता अपनाउन निगमले उपभाेक्ता समक्ष अनुराेध समेत गरेकाे छ ।


