पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्यवृद्धि
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।
नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा यसअघि १८७ रुपैयाँ पेट्रोलको मूल्य रहेकामा अब प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ ।
यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा पुगेको छ । यसअघि ती स्थानमा १८४ रहेकाे थियाे ।
त्यस्तै डिजेल/मट्टितेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कामय भएको छ ।
यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८६ रुपैयाँ रहेकामा अहिले बढेर २०१ रुपैयाँ पुगेको छ । यस्तै त्यहाँ डिजेल/मट्टितेलको मूल्य पहिले प्रतिलिटर १६६ रुपैयाँ रहेकामा अब बढेर १८१ रुपैयाँ पुगेको छ ।
आयल निगमले पुरै मुल्य समायाेजन नभएकाेले पेट्राेलमा ३४.३६, डिजेलमा १२०.५४ र खाना पकाउने ग्याँसमा ४१६.३७ रूपैयाँले नाेक्सानी रहेकाे जनाएकाे छ ।
यो मूल्य समायोजनपछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड निगमलाई घाटा हुने जनाएको छ ।


