आलु महोत्सवको तयारी अन्तिम चरणमा

१४ औं संस्करणकाे राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७  गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

महोत्सवमा प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुनेछ । मूल आयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण तथा आलुका विभिन्न परिकारहरू उपलब्ध गराइने जानकारी दिनुभयाे ।

साथै उहाँले कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोक निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिनुभयाे ।

महाेत्सवमा कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि समेटिनेछन् ।

पोखरा महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले पोखरालाई विश्व वजारमा चिनाएको धारणा राख्दै महानगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने बताउनुभयाे ।

सदाझै यसपटक पनि महोत्सवमा “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” नारालाई अगाडि सारिएको छ ।

महोत्सव मार्फत हेमजालाई कृषि क्षेत्रका रुपमा परिचित गराउने, हेमजाको कृषि उत्पादन तथा विकासमा टेवा पुर्याउने, कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउँदै हेमजालाई कृषि राजधानीको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ ।


त्यस्तै आयोजकले क्लब भवन निर्माणका साथै तरकारी सङ्कलन एवम् बिक्री वितरण केन्द्र स्थापना गर्ने, बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गर्ने उद्देश्य पनि लिएको छ ।

हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिदै आएको छ । यस खेतीमा त्यहाँका करिव २ हजार घरपरिवार आधारित रहे पनि १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।

जसको प्रति रोपनी औसत उत्पादन लागत रु.१८ हजार ५ सय ९७ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ ।

Facebook Comments