बडादशैं अन्तर्गत एकादशीः टीका र जमरा लगाउने क्रम जारी
दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ ।
नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् ।
नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट विजयादशमीको दिन टीका जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ भने टाढा रहेका आफन्तहरुसँग काेजाग्रत पूर्णिमाकाे दिनसम्म पनि टिका एवं आशीर्वाद ग्रहणका लागि जाने चलन छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ ।
कतिपय स्थानमा विजया दशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कतिपय स्थान एवं समुदायमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन रहेको छ ।
ठाउँअनुसार आफ्नै खालका परम्पराहरु रहने हुँदा पूर्वी र मध्य नेपालका कतिपय समुदायमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छ । पश्चिम नेपालका कैयौं ठाउँहरुमा दुर्गा विसर्जन गरेको एक दिनमात्रै टीका ग्रहण गर्ने प्रचलन छ ।

