रास्वपा सभापति लामिछाने धार्मिक प्रयाेजनका लागि भारत भ्रमणमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक प्रयाेजनका लागि भारत भ्रमणमा जानुभएकाे छ । उहाँले धनगढीमा आफ्नो भारत भ्रमण विशुद्ध व्यक्तिगत र धार्मिक भएको स्पष्ट पार्नुभएकाे छ । लामिछाने भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक स्थल कैंची धाम (नैनीताल) भ्रमणका लागि जानुभएकाे छ ।

सभापति लामिछानेले यस भ्रमणमा कुनै पनि राजनीतिक प्रयाेजन नरहेकाे स्पष्ट पार्दै उहाँले कारागारमा हुँदा नै एउटा भाकल गरिएको र त्यसैलाई पूरा गर्न परिवारसहित जान लागेको बताउनुभयाे ।

पत्नी निकिता पौडेल तथा पार्टीका नेताहरूसहित धनगढी पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

लामिछाने सपरिवार धनगढी हुँदै सडकमार्ग भएर भारतको नैनीतालस्थित कैंची धाम र आसपासका धार्मिक स्थलहरूको दर्शन गर्नुहुने बताइएकाे छ।

Facebook Comments