माघे सङ्क्रान्तिका अवसरमा गाेरू जुधाइँदै

माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट रसुवा लगायतका जिल्लामा गोरु जुधाउन लागिएको छ । हरेक बर्ष नुवाकाेट र रसुवा जिल्लामा गाेरू जुधाउने प्रतियाेगिता राख्ने गरिन्छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो ।

अन्य स्थानमा एक दिन मात्र गाेरू जुधाइँने भए पनि तारुकामा आयोजित गोरु जुधाइ ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिमार्फत २ दिन सम्म सञ्चालन हुने बनाइएकाे छ ।

तारुकाको गोरु जुधाइलाई नेपालकै उद्गम थलोका रूपमा लिइन्छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको भन्ने इतिहासमा पढ्न पाइन्छ ।

उता नुवाकाेट र रसुवाकाे संगमस्थल बेत्रावतीमा भने नेपाल र भाेटवीच भएकाे युद्धसँग सम्बन्धित रहेकाे मानिन्छ । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगङ्गा (फलाखु) नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा गोरु जुधाइ सुरु भएको स्थानीयकाे भनाइ छ ।

नेपाल आक्रमण गर्न यही (बेत्रावती)सम्म आएको चिनियाँ सैनिक फौज फर्केर गएपछि नेपालको सीमा रसुवागढीसम्म कायम भएकाे थियो ।

मकर सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको विभिन्न स्थानमा जस्तै नुवाकोटसँग सीमा जोडिएको धादिङको खाल्टे, भङ्गेरीलगायतमा स्थानमा गोरु जुधाइ प्रतिस्पर्धासहित कृषि प्रदर्शनीलगायतका माध्यमबाट परम्परालाई निरन्तरता दिइएको छ ।

Facebook Comments