हङकङकाे आवासीय क्षेत्रकाे अपार्टमेन्टमा भएकाे आगलागीमा परी ४४ जनाकाे मृत्यु

हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगलागीमा परी ४४ जनाकाे मृत्यु भएकाे र २७९ जनाकाे अवस्था अज्ञात रहेकाे जनाइएकाे छ ।

बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागी नियन्त्रणमा आउन सकेकाे छैन भने आगलागी वरपरका थप भवनमा समेत फैलिएकाे बिबिसिले जनाएकाे छ।

उक्त आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ । आगो लागेको १९ घन्टाभन्दा बढी समयदेखि  ८०० भन्दा बढी अग्नि नियन्त्रकले आगलागी नियन्त्रणकाे प्रयास जारी राखेका छन् ।

ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ।

घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी, अग्निनियन्त्रक, दमकल र एम्बुलेन्सहरू तैनाथ गरिएकाे छ ।

आगलागीको कारण खुल्ननसके पनि भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीका तीन जनालाई पक्राउ गरिएकाे छ। भवन निर्माण तथा मर्मत सम्भारका लागि ताेकिएकाे मापदण्ड नपुर्‍याइएको आशंका गरिएकाे छ ।

Facebook Comments