लुम्बिनी लायन्स एनपीएल च्याम्पियन
लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै चित्त बुझाउनु परेकाे छ ।

कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।
८६ रनकाे चुनाैती पाएकाे लुम्बिनीले ९ ओभरमै ४ विकेटकाे क्षतिमा पूरा गर्दै च्याम्पियन बनेको हो ।
यसअघि आजको खेलमा लुम्बिनीका लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र ट्रम्पलम्यानले पनि समान ३/३ विकेट लिए ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रनमै अलआउट भएको हो ।

