पाेखरामा चैत २९ देखि फेवा नव वर्ष महोत्सव हुने
पर्यटकीय नगरी पोखरामा आगामी चैत २९ गतेदेखि ‘फेवा नव वर्ष महोत्सव’ सुरु हुने भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने महोत्सव बैशाख १ गतेसम्म जारी रहनेछ ।
महोत्सवको २१ औं संस्करणबारे बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइएकाे हाे ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार महोत्सवको तयारीका काम भइरहेकाे छ । आयोजक टोलीले ५ दिने पूर्वाञ्चल प्रवर्द्धन भ्रमण सम्पन्न गरिसकेको छ भने लुम्बिनी प्रदेशबाट आएका पत्रकारहरूसँग अन्तरक्रिया गर्दै पश्चिम नेपालका पर्यटकलाई समेत निम्तो दिइएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयाे ।
‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नारासहित आयोजना गरिने महोत्सव पोखरा लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुनेछ । लेकसाइड क्षेत्रलाई दुलहीझैं सिंगारेर सडकमै पर्यटकको स्वागत गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा आगन्तुकलाई विभिन्न परिकार चखाउँदै सांस्कृतिक झलक प्रस्तुत गरिने आयोजकले जनाएकाे छ । हाल विभिन्न कारणले शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन महोत्सव महत्वपूर्ण हुने विश्वास गरिएकाे छ ।
महाेत्सवमा प्रदेशस्तरीय सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी, परम्परागत पञ्चेबाजा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, लोकदोहोरी तथा पप कन्सर्टलगायत विविध कार्यक्रम आयोजना गरिनेछ ।
उद्घाटनअघि लेकसाइडको खहरेचोकदेखि अम्बोटसम्म झाँकीसहितको र्याली निकालिने कार्यक्रम छ । महोत्सवको पूर्वसन्ध्यामा रात्रीकालीन दौड प्रतियोगिता पनि आयोजना गरिनेछ ।

महोत्सव अवधिभर पोखराका होटलहरूमा १० देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ भने eSewaमार्फत होटल बुकिङ गर्दा १० प्रतिशतसम्म क्यासब्याक सुविधा समेत उपलब्ध गराइने संघले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले यस्ता महोत्सवहरूले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे ।

