विश्वकपः फ्रान्स र माेरक्काे क्वार्टरफाइनलमा प्रवेश

फिफा विश्वकप २०२६ अन्तर्गत भएका पछिल्ला खेलबाट फ्रान्स र माेरक्काे क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

फिलाडेल्फिया स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम १६ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

खेलमा फ्रान्सेली कप्तान केलियन एम्बापेले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बनेकाे थियाे ।

तर दोस्रो हाफमा फ्रान्सले आफ्नो खेलको गति बढाएपछि ७० औं मिनेटमा पेनाल्टीमा प्राप्त अवसर नै खेलका लागि निर्णायक बनेकाे हाे ।  फ्रान्सेली खेलाडी डेजायर डौएलाई पाराग्वेका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए।

उक्त अवसरलाई सदुपयोग गर्दै केलियन एम्बापेले गोल गरी फ्रान्सलाई महत्वपूर्ण अग्रता दिलाएका हुन् ।

फिफा विश्वकप २०२६ को पहिलो अन्तिम १६ को खेलमा मोरक्कोले सह-आयोजक क्यानडालाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

ह्युस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि निकै तनावपूर्ण र आक्रामक देखिएको थियो। रेफ्री माइकल ओलिभरले पहिलो हाफमै ६ वटा पहेँलो कार्ड देखाउनु परेको थियो।

क्यानडाले पहिलो हाफमा खेलमा निकै राम्रो पकड बनाएको थियो र टानी ओलुवासेयीले गोल गर्ने सुनौलो अवसर पनि पाएका थिए, तर उनीहरूले त्यसलाई सदुपयोग गर्न सकेनन्।

दोस्रो हाफमा भने मोरक्को पूर्ण रूपमा फरक लयमा देखियो। खेलको ५० औं मिनेटमा अजेदिन उनाहीले अचरफ हाकिमीको सुन्दर पासमा गोल गर्दै मोरक्कोलाई १-० को अग्रता दिलाए। क्यानडाले बराबरी गोलका लागि निकै मिहिनेत गरे पनि ८२ औं मिनेटमा उनाहीले नै व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए। यस गोलका लागि ब्राहिम डियाजले उत्कृष्ट असिस्ट प्रदान गरेका थिए।

खेलको इन्जुरी समयमा सोफियाने राहिमीले तेस्रो गोल थपेपछि क्यानडाको पुनरागमनको सबै आशा समाप्त भयो।

क्वार्टरफाइनलमा फ्रान्स र मोरक्काेवीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments