बेल्जियम र स्पेन विश्वकपकाे क्वार्टरफाइनलमा प्रवेश
सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।
बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल गरेका थिए । योसँगै बेल्जियम ८ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१८ को विश्वकपमा तेस्रो बनेको बेल्जियम २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि स्पेनसँग खेल्नेछ ।

यो हारसँगै २४ वर्षपछि क्वार्टरफाइनल पुग्ने अमेरिकाको सपना अधुरै बनेको छ । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा मिकेल मेरिनोले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।

यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ । यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो ।

