इंग्ल्यान्डमाथि २-१काे जीतसँगै अर्जेन्टिना विश्वकपकाे फाइनलमा
इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि साविक विजेता अर्जेन्टिनाकाे विश्वकपकाे फाइनल यात्रा तय भएकाे हाे ।
एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै फाइनल प्रवेह गरेकाे हाे ।
अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे । इंग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरे ।
तीन पटकको विश्वविजेता अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हाे । अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ ।
अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको थियो भने १९३०, १९९० र २०१४ मा फाइनलमा पराजित भएको थियो ।
सन् १९६६ मा उपाधि जितेको इंग्ल्यान्ड सेमिफाइनलमा तेस्रोपटक पराजित भयाे । यसअघि १९९० र २०१८ मा पनि सेमिफाइनल पुगेर पराजित भएको थियो ।
पहिलाे हाफ गाेलरहित बराबरी भएकाे खेलकाे दोस्रो हाफमा तीन गोल भयो ।
खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलकाे ८५औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेलले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । बराबरी गोल गरेपछि अर्जेन्टिना खेलमा हावी हुँदै दोस्रो हाफमा थपिएकाे ९ मिनेटको अतिरिक्त समयकाे सदुपयाेग गर्न सफल भयाे ।
अतिरिक्त समयको दोस्रो मिनेटमा सुपर सब मार्टिनेजले मेसीकै पासमा गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए, जुन फाइनल प्रवेशका लागि निर्णायक बन्याे ।

