नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (NEC) मा आयोजित बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३ सफलतापूर्वक सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित प्रतियोगितामा २७ टोलीमध्ये शंकरदेव कलेजको ‘द इभिल्स’ टोली प्रथम भएको छ ।

बागमती प्रदेशको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटकहरूको सुरक्षालाई प्रविधिमार्फत प्रभावकारी बनाउने उद्देश्यले आयोजित ह्याकाथनमा सहभागी टोलीहरूले पर्यटक सुरक्षासम्बन्धी नवीन र प्रविधिमैत्री मोबाइल एप तथा डिजिटल समाधान प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेजको ‘रोमर्स’ टोली उपविजेता बन्न सफल भयो भने एस कलेजको ‘एएसडी’ टोली तेश्राे स्थान हासिल गर्याे  । विजेता टोलीहरूले क्रमशः रु. ५० हजार, रु. २५ हजार र रु. १५ हजार नगद, साथै ट्रफी र मेडल प्राप्त गरेका छन् ।

विजेता टोलीहरूलाई नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, प्रशासन प्रमुख श्रीमा शर्मा तथा कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख अंशु घिमिरेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ ले नेपाल भ्रमणमा आउने पर्यटकहरूले विभिन्न प्रकारका सुरक्षा चुनौती तथा असहज परिस्थितिको सामना गर्नुपरेको उल्लेख गर्नुभयाे ।

उहाँले प्रविधिमा आधारित उपाय खोज्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको उल्लेख गर्नुभयाे । मन्त्री श्रेष्ठले प्रतियोगितामा प्रस्तुत उत्कृष्ट अवधारणालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

पर्यटन क्षेत्रलाई प्रविधिमैत्री, नवप्रवर्तनमुखी र दिगो बनाउने उद्देश्यसहित आयोजित ह्याकाथनमा विभिन्न कलेजका प्रतिभाशाली युवा नवप्रवर्तकहरूले सिर्जनात्मक तथा व्यावहारिक समाधान प्रस्तुत गरेका थिए ।

विशेषगरी नेपाल भ्रमणमा आउने पर्यटकहरूको सुरक्षा, सूचना पहुँच र सहज यात्रालाई केन्द्रमा राखी विकसित गरिएका अवधारणाले निर्णायकहरूको विशेष प्रशंसा प्राप्त गरेका थिए ।

Facebook Comments