अमेरिका र इरान वार्ता सम्पन्न, भएन सहमति
अमेरिका र इरानबिच छ हप्तादेखि जारी युद्ध अन्त्य गर्ने लक्ष्यका साथ पाकिस्तानको इस्लामावादमा भएको ऐतिहासिक वार्ता आइतबार बिहान सम्पन्न भएको छ ।

वार्ता सम्पन्न भएपनि सहमतिमा पुग्न नसकिएकाे अमेरिकी वार्ता टाेलीका प्रमुख जेडी भान्सले उल्लेख गर्नुभएकाे भन्दै बिबिसीले समाचारमा उल्लेख गरेकाे छ । २१ घण्टा बढी समय पाकिस्तानमा रहेकाे तर एउटा खराब समाचार छ इरानसँग सहमति हुन सकेन । अमेरिकी वार्ता टाेली पाकिस्तानबाट फर्कने तयारीमा छ, भान्सलाई उदृत गर्दै बिबिसीले लेखेकाे छ ।
एक दशकभन्दा लामो समयपछिको यो पहिलो प्रत्यक्ष भेटवार्ता र सन् १९७९ पछिको सबैभन्दा उच्चस्तरीय राजनीतिक संवाद हो ।
करिब १४ घण्टासम्म चलेको यस वार्तामा दुवै पक्षका प्राविधिक विज्ञहरूले दस्ताबेज आदानप्रदान गरेका छन् । इरानी सरकारले केही गम्भीर मतभेदहरू कायमै रहे पनि वार्तालाई निरन्तरता दिन भने सहमति जनाएकाे छ । अमेरिकाले इरानकाे परमाणु कार्यक्रम राेक्नुपर्ने मुख्य शर्त बनाएकाे छ ।

अर्को बैठक कहिले बस्ने भन्नेबारे खुलाइएको छैन।
पाकिस्तानी मध्यस्थतामा भएको यस वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विट्कफ र र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए ।
त्यस्तै इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बाकर कालीबाफ र विदेशमन्त्री अब्बास अराक्चीले नेतृत्व गरेका थिए। दुई पक्षबिचको संवादका क्रममा वातावरण निकै उतारचढावपूर्ण रहेको र आपसी अविश्वास स्पष्ट देखिएको स्रोतले बताएको छ।
इरानी प्रतिनिधिमण्डलले युद्धमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र अन्यको शोकमा कालो पोसाक लगाएका थिए भने अमेरिकी बमबारीमा मारिएका विद्यार्थीका जुत्ता र झोलाहरू टेबुलमा राखेर विरोध जनाएका थिए।
यस वार्ताको मुख्य केन्द्रमा विश्वको २० प्रतिशत ऊर्जा आपूर्ति हुने स्ट्रेट अफ होर्मुज जलमार्ग रहेको छ, जसलाई इरानले युद्ध सुरु भएदेखि नै बन्द गरिदिएको छ ।
अमेरिकी सेनाले सो क्षेत्रबाट आफ्ना युद्धपोतहरू पार भएको र समुद्री माइनहरू हटाउने तयारीमा रहेकाे अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे अभिव्यक्ति सार्वजनिक भउकाे छ । तर इरानले त्यसलाई अस्वीकार गरेको छ ।
इरानले कतार र अन्य विदेशी बैंकहरूमा रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने, युद्धको क्षतिपूर्ति पाउनुपर्ने र लेबनानसहित क्षेत्रीय स्तरमा पूर्ण युद्धविराम हुनुपर्ने माग राखेको छ ।
अमेरिका र इरान वार्तामा बस्दै गर्दा इजरायलले लेवनानमा आक्रमण जारी राखेकाे छ ।

