एलनिनाेकाे प्रभावले मनसुनमा ढिलाइ हुने
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले एलनिनाेका कारण नेपाल सहित दक्षिण एशियामा नै मनसुन ढिलाे सुरू हुने उल्लेख गरेकाे छ ।
प्रशान्त महासागरमा एलनिनाे विकास भएकाे र थप सशक्त हुने क्रममा रहेकाे पनि महाशाखाले जनाएकाे छ । जसका कारण नेपालमा मनसुन ढिलाे गरी सुरू हुनेछ ।
महाशाखाका अनुसार २०८३ असार २ गते (मङ्गलबार) दिउँसाे देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, मधेश प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने गर्मी बढ्ने महाशाखाले उल्लेख गरेकाे छ ।
मङ्गलबार राति देशको हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातकाे संभावना छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना तथा कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।


