आज मातातीर्थ औंसी, जन्मदाता आमालाई सम्मान गरी मनाइँदै

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसी अर्थात् मातातीर्थ औंसी, आजकाे दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइँदैछ ।

देशैभर हिन्दु धर्मावलम्बीहरूले आमाको मुख हेर्ने पर्वका अवसरमा आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउँदैछन् ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमाकाे स्मरण गर्ने गर्दछन् ।

काठमाडाैंकाे मातातीर्थमा दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादानका लागि दर्शनार्थीहरू पुगेका छन् ।

वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्वबारे चर्चा गरिएकाे छ ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेकाे छ ।

Facebook Comments