आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस, बामपन्थी एकतामा प्रचण्डकाे जाेड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र कम्युनिस्ट शक्तिहरूबीचको एकता हुनुपर्ने बताउनुभएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै संयाेजक प्रचण्डले सम्पूर्ण वामपन्थी र कम्युनिस्ट शक्तिहरूबीचको एकतामा जोड दिनुभएकाे हाे ।

सन्देशमा प्रचण्डले वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको कम्युनिस्ट पार्टीले सामन्ती निरङ्कुशताको अन्त्य गरी देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा ऐतिहासिक भूमिका खेलेको बताउनुभएकाे छ ।

सन्देशमा भनिएको छ, ‘आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेका छन्। साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन। त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिस्ट पार्टीको औचित्य रहिरहनेछ।’ प्रचण्डले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद र फासिवादी प्रवृत्तिका विरुद्ध लड्न महान् लेनिनका शिक्षाहरू अझ सान्दर्भिक भएको समेत उल्लेख गर्नुभएकाे छ ।

प्रचण्डले समतामूलक समाज निर्माण गर्न छरिएर रहेका सम्पूर्ण वामपन्थी शक्तिहरू एक हुनुपर्ने तथा लाेकतान्त्रिक शक्तिहरू माेर्चावन्दी हुनुपर्ने बताउनुभएकाे छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनकाे आवश्यक्ता रहेकाे भन्दै प्रचण्डले एकीकृत भएर अगाडि बढ्न सबैमा सबैमा हार्दिक आह्वान समेत गर्नुभएकाे छ ।

विगतका जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिहरूबीचको मोर्चाबन्दी अपरिहार्य रहेको उहाँको भनाइ छ।

Facebook Comments