माैसमः तराई साथै उपत्यका र खोँचहरूमा गर्मी बढ्ने

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग लगायत देशका बाँकी हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको जनाएकाे छ ।

त्यस्तै मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

महाशाखाले साेमबार राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ । 

Facebook Comments