माैसमः पश्चिमका तराई क्षेत्रमा तातो हावा चल्ने सम्भावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशका हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बादल  लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी ‍प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा गर्मी बढ्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्न सक्ने महाशाखाले जनाएकाे छ ।

बुधबार राती कोशी ‍प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएकाे छ । त्यस्तै कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

Facebook Comments