नेकपाका नेता महराद्वारा सक्रिय राजनीतिबाट विश्राम
पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिश्राम लिनुभएकाे छ ।
७०औं जन्मदिनका अवसरा स्वास्थ्य अवस्थाका कारण ४८ वर्षे सक्रिय राजनीतिक जीवनबाट विदा लिने निर्णय गरेकाे महराले वक्तव्य मार्फत् घाेषणा गर्नुभएकाे हाे ।
पार्टीप्रति कुनै वितृष्णाभन्दा पनि स्वास्थ्य र उमेरका कारण सक्रिय राजनीतिबाट अलग भएको महराकाे भनाइ छ ।
२०१५ साल असार ४ गते रोल्पाको सदरमुकामस्थित लिबाङमा निम्न वर्गीय किसान परिवारमा जन्मनुभएका महरा २० वर्षको उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्याे । शिक्षण पेशामा रहँदा महरा कम्युनिष्ट राजनीतिकमा सक्रिय बन्नुभएकाे थियाे ।
पटक पटक सांसद र मन्त्री बन्नुभएका महरा पछिल्लाे समय एट्रोफी सम्बन्धी राेगबाट पीडित हुनुहुन्छ ।
महराले जारी गर्नुभएकाे वक्तव्य
वक्तव्य
विगत करिब ४५ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रामा म निरन्तर रूपमा सहभागी रहँदै आएको कुरा सबैमा विदितै छ। यस अवधिमा नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एमेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हाल नेपाली कम्युनिष्ट पार्टी सम्म आइपुग्दा मैले आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको छु। यो यात्रामा मैले असंख्य साथीहरू, जनता र परिवारको माया, विश्वास र सहयोग प्राप्त गरेको छु, जसप्रति म सदैव कृतज्ञ रहनेछु।
तर, केही वर्षयता म एट्रोफी (Atrophy) सम्बन्धी रोगबाट पीडित छु। नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन।
परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैं सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ।
यस यथार्थलाई आत्मसात गर्दै, निकै गह्रौं मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो।
यद्यपि, पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सुदृढीकरणमा म सधैं इमानदार र प्रतिबद्ध रहनेछु। पार्टीमा बिताएका वर्षहरू, आन्दोलनका स्मृतिहरू, सहकर्मी साथीहरूको आत्मीयता र देश तथा जनताप्रतिको मेरो प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त हुने छैन। मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ।
म दृढ विश्वास व्यक्त गर्दछु कि नयाँ पुस्ताका ऊर्जावान युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्नेछन्। उनीहरूको सफलतामा नै हाम्रो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहनेछ।
यस लामो यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु।
कृष्ण बहादुर महरा
नेकपा
४ असार २०८२

