माैसमः बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा गर्मी बढ्ने

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ । त्यस्तै लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेशको तराई  भूभागमा आंशिक बादल लाग्ने भने अन्य प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

महाशाखाले दिउँसाकाे समयमा कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेकाे जनाएकाे छ। 

महाशाखाका अनुसार कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा  पनि चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि गर्मी बढ्ने तथा  तातो दिन हुने सम्भावना छ । 

शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने, अन्य हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र  सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

Facebook Comments