साैर्य एअरलाइन्सकाे विमान दुर्घटनाः जाँचबुझ आयोग गठन
सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटनामा परेकाे थियाे ।
दुर्घटनापछि मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयाे ।
आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते अवस्थामा उपचार भइरहेकाे छ ।
आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियमित हवाई परीक्षण गराउनुपर्ने र त्यसको नेपाल नागरिक उड्डयान प्राधिकरण मार्फत् अनुगमन गर्ने निर्णय सरकारले गरेकाे छ ।

