गृहमन्त्रीलाई तत्काल पदबाट बर्खास्त गर्न माग

जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरिएकाे छ ।

मुभमेन्टले गृहमन्त्री गुरूङ माथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उहाँलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको हाे ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यो स्वार्थ बाझिने दाबी गरिएकाे छ ।  

वक्तव्यमा मन्त्रीको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको भन्दै निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरिएको छ।

जेनजी मुभमेन्टले मन्त्री नियुक्त गर्ने र फेरि हटाउने विषयलाई कच्चा र अमर्यादित खेल नबनाउन समेतर बालेन शाह नेतृत्वको सरकारसँग आग्रह गरेको छ ।

क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय भएको भन्दै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्न मुभमेन्टकाे आग्रह छ ।

विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि गृहमन्त्री गुरुङकाे विराेध हुँदै आएकाे छ ।

Facebook Comments