अक्षय तृतीया मनाइँदै

आज वैशाख शुक्ल तृतीया अर्थात् जौको सातु र सर्वत खाएर मनउाने पर्व अक्षय तृतीया । हिन्दु धर्ममा आस्था राख्नेहरूले जौको सातु र सर्वत खाएर याे पर्व मनाउँदैछन् ।

गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो । यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको जन्म भयो । त्यसैले आजकाे दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ ।

भगवान शिव–पार्वतीको विवाह पनि भएको दिन भएकाले आजका दिनमा गरिने स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन पञ्चाङ्ग नहेरी पनि शुभकार्य गर्न सकिने मान्यता रहेकाे छ ।

शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ । हिन्दु धर्मावलम्वीहरूका लागि भगवान विष्णुकाे भक्तिभावका लागि समेत बैशाख महिना नै शुभ मानिन्छ ।

Facebook Comments