मनसुन पश्चिमतर्फ सर्दै, पाँच प्रदेशमा प्रभाव
नेपालमा सरदर भन्दा ६ दिन ढिला सुरू भएकाे मनसुन ५ प्रदेशमा विस्तार भएकाे छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ ।

महाशाखाले अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जनाएकाे छ।
मंगलबार दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ । त्यस्तै मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईको एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरकेाे छ ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि गर्मी बढ्ने छ ।
मंगलबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्ने, मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा र बागमती, गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको तराईका एक(दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

