रास्वपा महाधिवेशनः आजदेखि बन्दसत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ ।

सोमबार बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावली फाइनल नहुँदा सुरू नै नभइ स्थगित भएकाे थियाे ।

जसका कारण रास्वपाको महाधिवेशन एक दिन लम्बिने भएको छ ।

राति छपाइ भएका कार्ड प्रदेशमार्फत मंगलबार बिहानदेखि वितरण थालिने छ। सात प्रदेश र समायोजन एवं प्रवासका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने महाधिवशेन आयाेजक समितिले जनाएकाे छ ।

कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ। केन्द्रीय निर्वाचन आयोगले आजै अर्को कार्यतालिका प्रकाशन गर्नेछ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रमा अनुशासन आयोगको प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, पार्टी विधानमाथिकाे छलल, राजनीतिक प्रतिवेदनका साथै आर्थिक प्रतिवेदनकाे प्रस्तुति र छलफल हुनेछ।

प्रतिवेदनमाथिकाे छलफल र अनुमाेदन कार्य सम्पन्न भएपश्चात पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने गरी कार्यतालिका तय गरिएकाे छ ।

आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा भइरहेको छ । 

रास्वपाकाे विधान अनुसार पहिलाे चरणमा सभापति र ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । पदाधिकारी भने निर्वाचित केन्द्रीय समितिले दाेस्राे चरणमा गर्ने तथा केहीकाे भने सभापतिले मनाेनयन गर्ने पार्टी विधानमा व्यवस्था गरिएकाे छ ।

Facebook Comments