माैसमः तराईका अधिकांश भू-भागमा गर्मी बढ्ने
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
महाशाखाकाले देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।
त्यस्तै लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको उल्लेख गरेकाे छ।
विहीबार राती कोशी र मधेश प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
त्यस्तै कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

