पार्टीकाे विधानबाट नभई संविधान अनुसार देश चल्नुपर्छः सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश संविधान कानुन अनुसार चल्नुपर्ने बताउनुभएकाे छ ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विधान अनुसार देश चलाउने प्रयास भएकाे भन्दै उहाँले मुलुक कुनै पार्टीकाे विधानले नभई देशको विधानले चल्नुपर्ने बताउनुभएकाे हाे ।
मंगलबार गोरखाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै उहाँले पाँच बर्ष सरकार चलाउने जिम्मा पाएको भएपनि देशकाे विधान र संविधान मिच्न नमिल्ने उहाँकाे तर्क छ ।
देशको संविधान र विधान अनुसार सरकार चल्छ कि चल्दैन त्यो हेर्ने जिम्मेवारी कांग्रेसको रहेको र त्यस्ताे नभएमा खबरदारी गर्ने सरकारका राम्रा काममा सहयाेग गर्ने थापाकाे भनाइ थियो ।
२०४६ सालयता सत्तामाेहका कारण सरकारमा रहेका र प्रतिपक्षमा बसेका दलहरुले आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा गर्न नसक्दा अहिलेकाे अवस्था आएकाे थापाकाे जिकीर थियाे ।
सरकारले सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानविन गर्ने सम्बन्धमा कांग्रेस सकारात्मक भएपनि आयाेगकाे कार्यादेशका सम्बन्धमा भने आपत्ति रहेको बताउनुभयाे ।
पुनः गृहमन्त्री बन्न लाग्नुभएका सुधन गुरुङप्रति गरिएकाे छानविन झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ भनेजस्तो भएकाे थापाकाे जिकीर छ ।

