कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा डिजिटल साक्षरता तालिम सम्पन्न
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास संगै डिजिटल साक्षरता तालिम सम्पन्न भएको छ ।
गाउँपालिकामै पहिलो पटक यस किसिमको तालिम आयोजना गरेको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताउनुभयाे ।
पछिल्लो समय युवापुस्ता मोवाइल तथा कम्प्युटरको प्रयोगमा चासाे राख्ने भएकाले इन्टरनेटको सहि सदुपयोग गर्दै पर्यटकीय गाउँ तथा स्थानीय उत्पादनको डिजिटल माध्यमबाट प्रर्वद्घन गर्न वडा भित्रका सामुदायिक विघालयका शिक्षक, पर्यटन तथा कृषि क्षेत्रमा आवद्ध डिजिटल माध्यममा चासो र सकृय रहेका युवालाई नेतृत्वसंगै डिजिटल साक्षरता तालिम प्रदान गरिएको बताउनुभयाे ।
वडा सदस्य चोक प्रसाद दाहालले तालिमको प्रभावकारीतालाई अध्ययन गरि आगामी दिनमा यस किसिमका तालिमहरुलाई निरन्तरता दिने बताउनुभयो । तालिमका सहजकर्ता मधु अधिकारीले अहिलेको आधुनिक युगमा प्रविधिको सहि सदुपयोग गर्न डिजिटल साक्षरता प्रमुख आवश्यक्ता भइसकेको बताउनुभयाे ।
पहिले निरक्षर नागरिकलाई साक्षर बनाउन राज्यले पढ्न नपाएकालाई प्रौढ शिक्षा दिए जस्तै अहिलेको अवस्थामा राज्यले हरेक नागरिकलाई डिजिटल साक्षर बनाउन लगानी गर्नुपर्ने बताउनुभयाे । अधिकारीले स्थानिय तहमा डिजिटल साक्षरता तालिमको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयाे ।
प्रशिक्षार्थीको तर्फबाट आफ्नो अनुभव सुनाउदै अंकिता दाहालले तालिम निकै प्रभावकारी भएको र सिकेका कुरालाई आफुले लागु गर्दै अरुलाई पनि सिकाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे । वडा सचिव विष्णु भट्टराईले धन्यवाद ज्ञापन गरेको उक्त समापन समारोहको संचालन प्रशिक्षार्थी प्रतिमा गुरुङ र प्रदिप गुरुङले गर्नुभएकाे थियाे । तालिममा वडा नम्बर ८ भित्रका ल्वाङ, घलेल, कोलेली, लुमे्र लागयतका गाउँबाट १६ जनाको सहभागिता थियो ।

