विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपाल लगायत विश्वभर प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
काठमाडाैं लगायत देशका विभिन्न जिल्लाहरूमा प्रभातपेरी निकालिएकाे छ ।
दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गर्नुभएकाे छ ।
राष्ट्रपतिको सन्देशमा भनिएको छ, “निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदितै छ । स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ ।”
समाजमा विभिन्न कालखण्डहरूमा अनेक खालका अफवाहहरू फैलन सक्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले अफवाहले नागरिकहरूलाई दिग्भ्रमित गर्ने र सही विचार निर्माण गर्नमा समस्या नहुने गरी स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मिहिनेत गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।

