भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा भीषण सैन्य हमला गरी राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ ।
पछिल्लाेपटक ट्रम्पद्वारा नै सार्वजनिक तस्बिरमा मदुरोको आँखामा कालो पट्टी बाँधिएको छ र हतकडी पनि लगाइएको छ । कानमा भने हेडफोन छ । मदुरो दम्पतीलाई युद्धपोतमा राखेर न्युयोर्क लगिएकाे छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएकाे र सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले गर्ने घोषणा गर्नुभएकाे छ ।
अमेरिकाले काराकासमा स्थानीय समयअनुसार शनिबार राति २ बजेतिर हवाई हमला गरेको थियो । त्यति बेला ११ पटकसम्म विस्फोटको आवाज सुनिएको थियो । हमलाबाट भेनेजुएलामा मानवीय र भौतिक क्षतिको विवरण सार्वजनिक भएकाे छैन ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनले सैनिक स्रोतलाई उद्धृत गरेअनुसार मदुरो र उनकी पत्नीलाई बेडरुमबाटै तानेर अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो ।
निकोलस मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयातको षड्यन्त्र, मेसिनगन र खतरनाक उपकरण राख्ने तथा त्यसमा षड्यन्त्र गरेको अभियोगमा मुद्दा चलाउने अमेरिकाकाे तयारी छ ।
अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणको रूस, चीन, कोलम्बिया लगायत देशले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघकाे सुरक्षा परिषद्काे बैठक बस्ने तयारी भएकाे छ ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले आक्रमणकाे विराेध गर्नुभएकाे छ । त्यस्तै भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले राष्ट्रमाथि भएकाे आक्रमणकाे निन्दा गर्दै सरकार नझुक्ने भन्दै जनतालाई एकजुट हुन आह्वान गर्नुभएकाे छ ।

