नेकपामा नेताहरूकाे कार्य विभाजन र महाधिवेशनकाे मिति तय
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा नेताहरूकाे कार्य विभाजन र महाधिवेशनकाे मिति तय भएकाे छ । जस अनुसार महाधिवेशन २०८३ मंसिर ११ देखि १५ गतेसम्म गर्नका लागि प्रस्ताव गरिएकाे छ ।
महाधिवेशन अगाडि सङ्घ, प्रदेश, पालिका, वडा र जनसङ्गठनको सङ्गठनात्मक समायोजन काम सम्पन्न गर्ने, असार–साउनसम्म श्रम शिविर सञ्चालन गर्ने, सदस्यता नवीकरण सम्पन्न र विस्तार लगायतका कार्य गर्ने प्रस्ताव छ ।
भदौ १५ सम्म वडा अधिवेशन सम्पन्न सम्पन्न गर्ने, भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन सम्पन्न गर्ने लक्ष राखिएकाे छ ।
असोज मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने, कात्तिक १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।
कार्य विभाजनकाे बिषयमा केही विवाद भएकाे थियाे । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा शीर्ष नेताहरूको कार्य विभाजनमा विवाद भएकाे थियाे ।
एक नेताका अनुसार सङ्गठन विभाग प्रमुखमा वामदेव गौतमकाे र विदेश विभाग प्रमुखमा झलनाथ खनालकाे दाबी थियाे । तर पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा प्रतिष्ठान प्रमुख, अर्का वरिष्ठ नेता वामदेव गौतमलाई उत्पादन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
नेता डा. वेदुराम भुसाललाई स्कुल विभाग प्रमुख र प्रमेश हमाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
यद्यपि भूगोलको सात र गैर भूगोलको दुई गरी ९ प्रदेशको इन्चार्ज टुङ्गो लागेको छ ।
जसअनुसार कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राई, मधेस प्रदेशको इन्चार्ज महिन्द्र राय यादव तथा सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराईलाई जिम्मेवारी दिइएकाे छ ।
यसैगरी बागमती प्रदेशको इन्चार्ज डा. गङ्गालाल तुलाधर, गण्डकीको श्रीनाथ बराल, लुम्बिनीको चक्रपाणि खनाल, कर्णालीको चन्द्र बहादुर शाही र सुदूरपश्चिमको इन्चार्जमा डा. भीम रावललाई दिइएकाे छ ।
यसैगरी उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा यशोदा सुवेदीलाई जिम्मेवारी दिइएकाे छ ।
आजको बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने, संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठनकाे लागि गर्नुभएकाे प्रस्ताव पास भएकाे छ ।

