भाद्र २४ गतेको विध्वंसकारी घटनाकाे छानबिन गर्न नेकपाकाे माग
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले जेनजी आन्दाेलनका क्रममा भाद्र २४ गते भएकाे विध्वंसकारी घटनाकाे छानविनका लागि माग गरेकाे छ ।
नेकपाकाे मंगलबार सकिएकाे केन्द्रीय कार्य संयाेजन समितिकाे बैठकले पास गरेकाे समसामयिक प्रस्तावमा साे बिषय उल्लेख छ । बैठकले १९ बुँदे सामसामयिक प्रस्ताव पास गरेकाे छ ।

नेकपाले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन असन्तुलित र आग्रहयुक्त देखिएको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा भदौ २४ गतेको विध्वंसकारी घटनाको बारेमा पूर्ण छानबिन भएको नदेखिएको भन्दै सो घटनाको समेत निष्पक्ष छानबिनको माग गर्दै दोषीहरूलाई बिना पूर्वाग्रह कारवाहीको माग गर्न माग गरेको छ।
सरकारले सुकुम्बासी बस्तीमा विना विकल्प डाेजर चलाएर आतंक सिर्जना गरेकाे नेकपाकाे ठहर छ ।

वास्तविक सुकुम्वासीको पहिचान र आवासको वैकल्पिक व्यवस्था बिना नै देशका विभिन्न स्थानबाट सुकुम्वासी बस्ती तीव्र रूपमा उठाउँदा हजारौँ अशक्त, बालबालिका, वृद्ध, असहाय र विपन्न सुकुम्वासी जनताकाे विचल्ली र आतंक सिर्जना भएको निष्कर्ष नेकपाकाे छ।
संविधान प्रदत्त आवासको हकलाई स्मरण गराउँदै विस्थापित सुकुम्वासीलाई यथाशीघ्र सुरक्षित आवासको प्रबन्ध मिलाउन र सुकुम्वासी समस्याको दीर्घकालीन र वैज्ञानिक समाधान गर्न सरकारसमक्ष नेकपाले माग गरेकाे छ ।
नेकपाले उपभाेग्य सामान सहित पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएकाे प्रति पनि ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
खाना पकाउने ग्यास, सार्वजनिक यातायातको भाडा, खाद्यान्न, फलफूल लगायत दैनिक उपभोग्य वस्तुहरूको मूल्य अनियन्त्रित रूपमा वृद्धि भएको नेकपाकाे ठहर छ ।
नेकपाले अत्यधिक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न र आपूर्ति व्यवस्था सहज बनाउन समेत माग गरेको छ।



