धादिङमा भएकाे सवारी दुर्घटनामा ३७ जना घाइटे

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा सवारी दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।

गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका र उनीहरूमध्ये ३४ जनाकाे काठमाडाैंका विभिन्न अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११:३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गर्दा सडकमा रोकिएको बा ०३-००१-००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङतर्फ जाँदै गरेको बा ०१-००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । लगत्तै काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको अर्को बस बा ०१-००६ ख ६७१६ ले समेत उक्त बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ३७ जनालाई इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको थियो । प्रहरीका अनुसार ३ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments