माैसमः मुलुकका केही स्थानमा मध्यम वर्षा र हिमाली क्षेत्रका केही भागमा हिमपातकाे संभावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज मंगलबार दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा तराई भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।

त्यस्तै महाशाखाले माैसम पूर्वानुमान बुलेटिनमा रातकाे समयमा कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

Facebook Comments