माैसमः पश्चिममा गर्मी बढ्ने, केही स्थानमा हावाहुरीकाे संभावना
हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल र तराई भू-भागमा मुख्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।
महाशाखाले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भू-भागका केही स्थानहरू, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराईका भू-भाग साथै लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाएकाे छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा भने गर्मी बढ्ने सम्भावना रहेको छ।
महाशाखाले बुधबार राती कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने, मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मुख्यतया सफा रहने जनाएकाे छ ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ।


