अछाममा जीप दुर्घटनामा परी २ जनाकाे मृत्यु

अछाममा जीप दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ ।

मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

शुक्रबार साँझ करिब ६ः५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिका बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसघारी नगरपालिका–५ का ४५ वर्षीय राम प्रकाश थारुको उपचारकै क्रममा शनिबार बिहान सुर्खेतस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटना लगत्तै अस्थायी प्रहरी पोष्ट बेल्खेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पठाएको थियो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार त्यहाँ प्राथमिक उपचारपछि गएराति ११ बजे सबै घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत लगिएकाे थियाे ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य तीन जनाको सुर्खेतमै उपचार भइरहेको छ ।

घाइते हुनेहरूमाः सिराहा जिल्ला, कल्याणपुर नगरपालिका–१० निवासी २७ वर्षका सन्त कुमार साह, जीप चालक बाँके नेपालगञ्ज निवासी २८ वर्षका राज राजेन्द्र भिमराज चट्टान गुप्ता, स्याङ्जा, फेदीखोला गाउँपालिका–४ निवासी अर्जुन कुमार पौडेलको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको छ ।

Facebook Comments