एनपीएलः पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै

दाेस्राे खेल लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच हुने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने छ ।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ।

जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ।

त्यस्तै दाेस्राे खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । दिउँसो १ बजेदेखि हुने याे खेल दुबै टिमका लागि सर्वाधिक महत्वपूर्ण छ ।

अंकतालिकामा काठमाण्डु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ । त्यस्तै लुम्बिनी ५ खेलमा समान २ अंक भएपनि रनरेटका आधारमा काठमाण्डुभन्दा एक स्थानमाथि पाँचौंमा छ ।

काठमाण्डुको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् ।

यहाँबाट लुम्बिनीको प्लेअफ सम्भावनाको झिनो आशा बाँकी नै रहँदा काठमाण्डुलाई पनि जित्नुपर्ने दबाब हुनेछ । आजको खेलमा लुम्बिनी विजयी भएमा प्लेअफको आशा बाँकी नै रहनेछ भने काठमाण्डुलाई धक्का लाग्ने छ ।

काठमाण्डु विजयी भएमा प्लेअफको दौडमा ठुलो सहयोग पुग्ने छ भने लुम्बिनी बाहिरिने पक्का हुनेछ ।

Facebook Comments