यमपञ्चक शुरूः काठमाडाैंमा काग सम्मेलन

हिन्दुहरूकाे दाेस्राे ठूलाे चाड तिहार शुरू भएकाे छ । यमपञ्चककाे पहिलाे दिन कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ ।

सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ ।

यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

यसैवीच आफूलाइ कागे समेत भन्न रूचाउने कलाकार रमेश दुलालले काग तिहारका अवसरमा काग सम्मेलन गर्नुभएकाे छ । उहाँले काठमाडाैंकाे नारायणहिटी दरबार अगाडि काग तिहारको दिन बुधबार बिहानै ‘२१औँ काग सम्मेलन’ गर्नुभउकाे हाे ।

विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार दुलालले  विगतका वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला गराएर सम्मेलन गर्नुभएकाे हाे ।  

सम्मेलनमा दुलालले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराउनुभएकाे थियाे ।  दुलालले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका थिए ।

Facebook Comments