नेपालमै पहिलोपटक रिभर ट्यूबिङ्ग सञ्चालनमा

दोलालघाटदेखि पचुवारघाटसम्म नेपालमै पहिलोपटक रिभर ट्यूबिङ्ग

काठ्माडौ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रिभर ट्यूबिङ्ग बारे अहिले धेरैको चासोको विषय बनेको छ ।

यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ । नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । शुरुवती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएको थियो।

रिभर ट्युबिङ नेपालका फाउण्डर यमन माझीका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । उहाँले भन्नुभयाे, “नेपालमा पहाडी गन्तव्यहरू र ट्रेकिङ्गका थुप्रै विकल्पहरू भए पनि नदीमा रमाउने सुविधाहरू सीमित छन् । हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं।” रिभर ट्यूबिङ्ग प्याकेजमा सहभागी हुनेहरूका लागि खानपान र यातायातको व्यवस्थासमेत समेटिएको छ । दोलालघाटमा सुरु हुने यो यात्रामा स्थानीय परिकारहरू पनि स्वाद लिन सकिनेछ ।

यसका साथै उद्घाटनको अवसरमा पहिलो महिनाभरि आउने पर्यटकहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ । यो सेवाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Facebook Comments